 |
केटाकेटीहरुका लागि आमाको
काखभन्दा सुरक्षित ठाउँ अन्त कतै होला ?
-शान्तदास |
कुरा हिजोअस्तिको हो,
काठमाडौं नजिकको गा.वि.स.को एउटा विद्यालयका शिक्षक काम विशेषले म
बसिरहेको टोलको विद्यालयमा आउनु भयो । भेटमा उहाँले "विद्यालय भवन
बनेकोमा बधाई दिनुपर्ने, पछि परें" भन्नुभयो । त्यसबेला मेरा
आँखाअगाडि एक्कासि एकपछि अर्को गर्दै विभिन्न घटनाहरुका
थुप्रैथुप्रै दृश्यहरु नाच्न थाले अनि ती महानुभावहरुलाई पनि मैले
देख्न थालें, जसले भवन ठड्याउनाका लागि सपना देखे, योजना बनाए,
श्रम गरे, अरुलाई प्रोत्साहित गरे, इटादेखि
डण्डीसम्म र सिमेन्टदेखि बालुवासम्म जोर्नाका लागि रातोदिन चिन्ता
लिए, जग खन्दा देखापरेका अवरोधहरुलाई कसरी पन्छाउने भनेर चिन्ता
लिएर नयाँ र भरपर्दो सल्लाह सहयोग माग्न भरमग्दुर मेहनत गरे । हो,
वर्षौसम्म अर्थात् जग राखेदेखि भवन नठडिएसम्म पटक-पटक निर्माणबारे
सोच्दै, खाँचोबारे चिन्ता लिंदै, खाँचो पुर्तिका
लागि भित्री हृदयदेखि लागिपरेका उहाँहरुलाई मैले सम्झँदै गरें ।
मैले धन्यवाद दिन यी सब कुरा उहाँलाई सुनाउनसक्नु
परथ्यो । वास्तवमा मैले यी सब कुरा एकै सासमा सुनाउनै
सक्तिनँ, त्यसैले मैले धन्यवाद भनिनँ । बरु मैले उहाँलाई यसो भने-
यसमा धेरैधेरैले पसिना बगाएका छन्, देशभित्र र देशबाहिर
बसिरहेकाहरुले सहयोग गरिरहेका छन्, यस ठाउँलाई देख्नेहरुदेखि लिएर
देख्तै नदेखेकाहरुले समेत केटाकेटीहरुका लागि आफ्नो माया, स्नेहका
साथ सक्दो सहयोग गरेका छन्, म उहाँहरु सबैको नाउँसम्म पनि उल्लेख
गर्न सक्तिनँ । वास्तवमा, यसो भनिरहँदा केटाकेटीहरुलाई माया गरेर
उहाँहरुले गर्नुभएका त्याग र बलिदानका लागि उहाँहरुप्रति मैले
आदर-भाव व्यक्त गरिरहेको थिएँ । मेरो मनभित्र कृतज्ञताका छालहरु
यसरी उर्लिरहेका थिए, तिनले मलाई दिनभरि नै भावविभोर बनाइरहे ।
पुरानो सम्झनाका पाताहरु पल्टिंदै जाँदा, जग हालेको दिनको ठूलो
जमघटका तस्वीरहरु मैले देख्न थालें । भवन निर्माणार्थ गाउँठाउँमा
जग हाल्नाका लागि खाडलहरु खनेका थिए । र अलिकति फराक ठाउँमा
उपस्थित हँसिला मानिसहरु -आदरणीय पाहुनाहरुसहित आफ्ना अभिव्यक्तिमा
खुसी व्यक्त गर्दै थिए । विद्यालय परिवारको त्यस बेलाको खुसीको सीमा
थिएन । भेलामा उपस्थित एकजना पत्रकारले, विद्यालय-भवन कसरी कत्रो
बन्दैछ भनेर मसँग प्रश्न गरे । त्यसबेला विद्यालयसँग जम्मा भएको
पुँजी भनेको त्यस्तै पाँचलाख जति मात्र थियो, अरु थप जुर्ला
कि नजुर्ला केही निधो थिएन । त्यसबेला के
भनूँ के नभनूँ गरेर मैले यसो भनेथें, "हामीसँग भए जतिको पैसाबाट
हुन सकेजति धेरै बनाउँछौं । नयाँ पुस्ताका लागि हाम्रो मायाको नमूना
नै बनाउन खोज्नेछौं । यो भवन हाम्रा केटाकेटीहरुका लागि राम्ररी
निर्धक्कसाथ हुर्कन
पाउने आमाको काख जतिकै सुरक्षित गाउँ बनोस् । यसको निर्माणमा हामी
सबै जुट्नेछौं ।"
त्यसको लगभग एक महिनाजतिपछि काठमाडौंका एक जना नामी इन्जिनियरले
मसँग कुरा गर्दै आफ्नो खुसी व्यक्त गर्नुभयो र भन्नुभयो- "म
तपाईहरुको त्यस अभिव्यक्ति (आमाको काख जतिकै
सुरक्षित) बाट साह्रै साह्रै प्रभावित भएको छु, वास्तवमा हामीले
बनाउने सब कुरो हाम्रो नयाँ पुस्ताका लागि आमाको काख जतिकै
सुरक्षित हुनुपर्छ ।" पछि मलाई थाहा भयो,
अहिले विद्यालयको हाताबाट हिंड्ने बटुवाहरु हिंड्दा-हिंड्दै टक्क
अडेर विद्यालय-भवन हेर्दै "विद्यालय-भवन पनि यस्तो भवन ।"
भन्नेजस्ता आर्श्चर्य मिश्रति भाव व्यक्त गर्न लाउने त्यस भवनको
डिजाइन उनै इन्जिनियरले गर्नुभएको रहेछ, त्यति मात्र कहाँ हो र, जग
रहने टाउको माटो फुस्रो अर्थात् पुरुवा भेटिएकोले र जग रहेको ठाउँमा
नयाँ र बोझिला यन्त्रहरु ल्याएर काम गर्न असजिलो भएकोले, सजिला र
सरल यन्त्रहरु (मानव शक्तिबाटै प्रयोग हुने)
प्रयोग गरेर बाह्रवटा खम्बाहरु रहने जगमुनि ४८ वटा साह्रा र दरा
काठका खम्बाहरु ठोक्तै भवनलाई निर्भीक रुपमा निर्धक्कसाथ उभिन सक्ने
गरी निर्माण गर्न लगाउने पनि उहाँ नै हुनुहुन्थ्यो । अँग्रेजीमा
Centiped
(सेन्टिपेड)
भन्ने शब्द छ जसको अर्थ सहस्र खुट्टा भएको जनाउँछ । सहस्र खुट्टा
वा जरा हुनु भनेको साह्रै पक्का गरी जमिन लिनु अर्थात् बलियो हुनु
हो र यो जस्तोसुकै स्थितिमा पनि टिक्नसक्ने हुन्छ । अनि त्यसका
छहारीमा खेल्दै हुर्कदै गरिरहेका
केटाकेटीहरु अवश्य सुरक्षित भएर हुर्किन
पाउनेछन् । गा.वि.स.बाट पाल्नुभएका शिक्षकले बधाईको कुरा झिक्ता,
मैले उक्त इन्जिनियरलाई पनि झल्याँस्स देखें, त्यसबेला मेरो
स्मृतिमा, थोरै मात्र बोल्नुहुने उहाँ मुसुमुसु हाँसिरहनुभएको थियो,
र भवन निर्माणमा उहाँले हार्दिकताका साथ जुटाइदिनुभएको सहयोगका लागि
मैले मनमनै उहाँप्रति कृतज्ञता व्यक्त गरें ।
कुरा साँचो हो, आमाको काखमा पल्टिन पाएपछि रोइरहेको बच्चो चूपो
लाग्छ, काखको न्यानोले नै उसले म आमाको काखमा छु भन्ने कुरा थाहा
पाउँछ । के हाम्रा केटाकेटीहरु हाम्रो विद्यालय-भवनमा आइपुग्दा
त्यसरी नै अर्थात् आमाका काखमा पल्टिन पाएको सानू नानीलाई जतिकै
निर्भीक र निर्धक्कको बनाउन सकिन्छ त - यो प्रश्न विद्यालय-भवनका
साथै विद्यालय बनाउने काममा लागिरहेका सबैका मनमा उब्जिनु पर्ने
प्रश्न हो । वास्तवमा यो प्रश्न उब्जियो भने त्यसको समाधान खोज्न
खोज्दा हामी नयाँ पुस्तालाई हुर्काउने काममा
साँच्चै नै सचेत भई लाग्न पाउँछौं ।
जग हालेको केही दिनपछिको कुरा हो, गुजरातमा गएको भूकम्पपछि त्यहाँको
निर्माण कार्यमा सहयोग गरी फर्केर आउनुभएको एक जना प्राविधिकले
सुनाउनुभएथ्यो- "कस्तो गजब, हामीलाई सुनाएको ! त्यहाँ भूकम्प गएको
कति दिनपछि एउटा घरका भग्नावशेष पल्टाउँदा एउटा शव भेटि्टएथ्यो
रे, शव महिलाको थियो, त्यो शव झिक्ता त्यस महिलाको काखमा एउटा बच्चो
पनि भेटि्टयो, बच्चो आमाको काखमा पल्टिँदै
दूध चुस्तै थियो, आमा मरिसकेकी तर बच्चो भने जिउँदो ! धन्य आमाको
काख !"
नयाँ पुस्ताप्रति पुरानो पुस्ताको माया र दायित्वको एउटा
हृदयस्पर्शी उदाहरण ! आमाको काख कतिको सुरक्षित ठाउँ रहेछ त !
पुरानो पुस्ताले नयाँ पुस्ताका लागि यस्तै सुरक्षित ठाउँको निर्माण
गरौं !
२०६१ जेठ ३०
|