|
सधैं खेल्ने पुतली नभेटेकी हुनाले सरला कराउन थाली-
"आमा
!
मेरो पुतली खोइ
?"
सरलालाई के थाहा,
बिहान चिया खाने बेलामा उसको त्यो प्लास्टिकको पुतलीलाई काले
कुकुरले टोकेर एउटा हातै भाँचिदिएको थियो ।
आफ्नी छोरीले खेल्ने पुतलीको हात भाँचिदिने त्यो काले कुकुरलाई आमाले
दुइ-तीन
लौरो बजाइसक्नु भएको थियो र त्यो हात भाँच्चिएको पुतलीलाई काम
नलाग्ने ठानी रछ्यानमा फालिसक्नु भएको थियो ।
त्यसकारण वहाँले आफ्नी सानी छोरीलाई भन्नुभयो-
"तेरो
पुतलीको काले कुकुरले हात भाँचिदियो,
छोरी
!"
यो सुन्नेबित्तिकै चार वर्षकी
सरला रुन थाली । छोरीलाई सम्झाउँदै आमाले भन्नुभयो-
"नरोऊ
छोरी
!
म
भरे अर्को नयाँ पुतली किनिदिउँला ।"
सरलाले मानिन र
"नाई,
मलाई त्यही पुतली दिनुस्"
भनेर निकै कर गर्न थाली । आमाले जति सम्झाउँदा पनि उसले मानिन । अनि
झर्किदै आमाले भन्नुभयो-
"त्यो
नाथे हात भाँचिएको पुतलीमा कति कर गरेकी होली
!
छोरी भएर बुझ्नुपर्छ नि । त्यो काम न लाग्ने पुतली । अब चुप लाग,
भरे त्यो भन्दा झन् राम्रो,
झन् बलियो नयाँ पुतली ल्याइदिउँला अनि त्यहीसँग खेल्नु।
"छेउमै
सरलाका बुवा अखवार पढिरहनुभएको थियो।आमाको त्यस कुराले वहाँको मन
दुख्यो र सरलाकी आमालाई बोलाएर भन्नुभयो-
"तिमीले
आफ्नी छोरीको हात बिर्सियौं
-
पुतलीको जस्तै उसको पनि एउटा हात भाँच्चिएको छ । उसको एउटा हात छैन ।
के ऊ पनि हाम्रा लागि नाथे भई,
काम नलाग्ने भई
-
के भन्दा कसलाई के हुन्छ,
त्यो बुझेर बोल्नुपर्छ नि
!
खोइ कहाँ छ त्यो पुतली
-
उसको भाँच्चिएको हात पनि खोजेर ल्याऊ । म भरे बजारबाट भाँच्चिएको
त्यो एउटा हात जोडेर ल्याइदिन्छु ।"
बुवाको यस्तो राम्रो कुरा सुनेर सरला निकै खुशी भई सरला मुसुक्क
हाँसी र दौंडिदै बुवाको काखमा गएर बसी । बुवाले माया गर्दै म्वाई
खानुभयो। त्यसपछि सरलाले बुवाको कमिजको टाँक खेलाउँदै भनी-
"बुवा-बुवा
भरे पुतलीसित म पनि बजार जान्छु है?"
"किन
छोरी?"
बुवाले सोध्नुभयो ।
"भरे
बजारमा पुतलीको जस्तै मेरो हात पनि जोडिदिनु है बुवा?"
सरलाले भनी ।
|